
काठमाडौं, मंसिर १९। 'सबैका लागि निःशुल्क गुणस्तरीय शिक्षा अभियान' अन्तर्गत पिस फर पिपुलले यस शैक्षिक सत्रमा ग्रामीण सरकारी बिद्यालयमा अध्ययन गर्ने ४६८ विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
अभियानले पर्साका १३० बालबालिका, सर्लाहीका १२५ बालबालिका, धादिङको १८६ बालबालिका र काभ्रेको २७ जनालाई बिद्यालयमा आवश्यक पर्ने अत्यावश्यक शैक्षिक सामाग्रीहरू बितरण गरेको हो । जसमा कापी, विद्यालय झोला, सिसाकलम, ज्यामितीय वक्स, विद्यालयलाई ब्याडमिन्टन एवम् डायरी र माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सहयोगी पुस्तिकाहरू समेत छन् ।
अझै पनि बिभिन्न ग्रामीण क्षेत्रका विद्यालयहरूमा बालबालिकाहरुको शिक्षामा सहज पहुँच नभएको र शैक्षिक सामाग्री अभावको कारणले गर्दा नै विद्यालय भर्ना हुने तर पूर्णता नदिने समस्या ब्यापक देखिएकाले आफूहरूले यस अभियान मार्फत निरन्तर सक्दो सहयोग गरिरहेको संस्थाका अध्यक्ष सन्तोष विडारीले बताउनु भयो ।
सिकाईको सहजताको लागि हाम्रो अभियान निरन्तर जारी गरिरहेको छौ, बिभिन्न सहयोगी हात मार्फत सहयोग संकलन गरी निरन्तर समग्र शिक्षाको प्रत्याभूत सबै बालबालिकाहरुले गरुन् भन्ने हाम्रो उद्देश्यलाई यस अभियानले सकारात्मक प्रभाव पारेको छ । विद्यालय भवन निर्माण देखी बिद्यालयस्तर र कलेजस्तर सम्ममा छात्रवृत्ति एवम् समग्र सिकाइका फरक अभ्यास जस्ता क्रियाकलाप निरन्तरता पाएकोमा आफूहरू खुसी रहेको डाईरेक्टर पुनम खड्गी बताउनुहुन्छ ।
संस्थाले सानो सानो सहयोगहरु संकलनबाट नै भएपनि हालसम्म तिन हजार भन्दा धेरै बालबालिकाहरूलाई अत्यावश्यक शैक्षिक सामाग्रीहरू वितरण गरिसकेको छ । भावी दिनमा पनि कोही पनि बालबालिकाहरू सामाग्री र आर्थिक अभावले आफ्नो पढाई बीचमा नै छोड्नु पर्ने बाध्यता नहोस् भन्ने अभिप्रायले अभियानलाई अझै व्यापक बनाउने तयारी रहेको पनि संस्थाले जनाएको छ ।