Kath Khabar
सवारी जरिवानाको झन्झटिलो प्रावधानको अन्त्य


काठमाडौं, मंसिर २३। उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्किरहेको अवस्थामा आज बिहीबार देखी थप सेवा सुचारु गरेको हो।

सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट-इन्स्ट्यान्ट पेमेन्ट सिस्टम” व्यवस्थाको सुरुवात गर्नुभएको छ ।

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको चर्चा गर्नुहुँदै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको आजदेखि शुरु गरेको बताउनुभयो। पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवागरी पाँच वटा ट्राफिक कार्यालयबाट शुरु गरेको यो सेवालाई क्रमश अन्य कार्यालयमा समेत बिस्तार गर्ने महाशाखाले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरूले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ ।


 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update