Kath Khabar
‘विद्युतीय कार’ बनाउने विद्यार्थीको समूहलाई सहयोग

कैलाली, पुस १२। ‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गर्नुभएको छ ।

कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही सहयोग जुटाएर पुनः अरु विद्युतीय सामग्री निर्माण गर्ने ती विद्यार्थीको चाहना बमोजिम नगद रु पाँच हजार सहयोग गर्नुभएको हो । विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि रकम जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको निर्माता बोहराले बताउनुभयो ।

विद्युतीय कार निर्माणपश्चात् पहिलो पटक यसरी बाहिरबाट प्राप्त भएको सहयोगले अझ केही गर्ने हौसला थपिएको कार निर्माण गर्ने समूहका विद्यार्थी ऋषिकेश थापाले बताउनुभयो । करिब दुई वर्षदेखिको अनुसन्धानका क्रममा रहेका ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको समूहले कवाडी सामग्री बटुलेर रु एक लाख ५० हजारको लागतमा विद्युतीय कार निर्माण गर्नुभएको हो।  

निर्माण गरिएको कारको नाम ‘सारा अल्फा’ दिइएको छ । चार महिना लगाएर निर्माण गरेको कारमा चालकसहित पाँचजना बस्न सक्ने क्षमता रहेको छ । गाडीमा सबै पार्टपूर्जा वेल्डिङ गरिएका छन् । कारमा चारवटा ब्याट्री जडान छन् । अहिलेको अवस्थामा ७० किलोमिटर टाढा जान सक्ने र सात क्विन्टल भार बोक्न सक्ने जनाइएको छ ।

(रासस)

 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update