Kath Khabar
सेफ सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

लण्डन, पुस १३। नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जित्नुभएको छ । बीबीसी वान च्यानलमा सोमबार साँझ प्रसारित फाइनलमा साहले तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जित्नुभएको हो ।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै यो प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क सहभागी हुनुहुन्थ्यो ।

यसपालि सन्तोषले म्यारिनेटेड चिकेन ब्रेस्ट, कुखुराको मासुको झोल, मालपुवा र भुइँकटहरको राबडी, कोदोको पुलाव, तामाको अचार, लगायत परिकारका साथै सुपको आइसक्रीम, तरुल, काउली, भन्टा, आलु लगायतका सात प्रकारका तरुवा बनाएर बनाएर खुवाउनुभएको थियो ।

प्रतिस्पर्धामा आफूले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराएको शाहले बताउनुभयो । गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल हुनुभयो।

 

 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update