Kath Khabar
बाक्लो हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं, पुस १४। त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा-काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।

गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उहाँले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

(रासस)

 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update