
दमक, पुस १४। झापाको दमक नगरपालिका-२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।
प्र १-०२-०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी-४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती- ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला-३ का १९ वर्षीय अनिल लामगादे रहनुभएको छ ।।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
(रासस)