Kath Khabar
भक्तपुरको चारदोबाटोमा कार दुर्घटना, एकको मृत्यु, दुई जना घाइते


भक्तपुर, पुष १५। भक्तपुरबाट काठमाडौँतर्फ जादै गरेको कार मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बा४च ५७६ नम्बरको उक्त कार तीव्र गतिमा भएको र सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिएको र कारमा सवार धनुषा उपमहानगरपालिका-१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्नुहुने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

घाइते भएका तीनै जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते हुनुभएको छ । घाइते घिसिङको मध्यपुर अस्पतालमा उपचार भईरहेको र उहाँको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । डिभाइडरमा ठोक्किएर पुनः अर्को ट्याक्सीसँग ठोक्किएर घाइते हुनुभएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका-१२ घर भई हाल ललितपुर बस्नुहुने  ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update