
भक्तपुर, पुस १६। भक्तपुरमा चार तले घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ।
भक्तपुर न.पा.-१० कमलविनायक बस्नुहुने हरिनारायण सितिखुकी १५ वर्षीया छोरीको घरको चार तलाबाट खसेर मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार शुक्रबार बिहान सवा ६ बजे बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उहाँलाई भक्तपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले बताउनुभयो। मृतक किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ।
किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताउनुभएको छ। मृतक कसरी खसेको हो भन्ने कुरा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको र थप अनुसन्धान अघि बढाएको बताएको छ।