
जुम्ला, पुष १८ । हिमाली जिल्लाका जुम्लालगायत कतिपय ठाउँमा हिउँ ल्याई साँधेर खाने चलन छ । हिउँ परेर रोकिएको भोलिपल्ट घाम लागेपछि हिउँ ल्याएर साँधेर खाने चलन रहिआएको छ।
जुम्लाकी भगवती आचार्यले भन्नुभयो, 'हिउँमा नुन, खुर्सानी, चुक, अमिलो पदार्थ तथा चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ। अहिलेभन्दा पनि फागुन/चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उहाँले बताउनुभयो।
त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाडौंसम्म पुर्याउने गरेको र कसैकसैले बेच्ने गरेको पनि मैले देखेको छु जुम्लाका अर्का स्थानीय बासिन्दा देवेन्द्रराज गिरीले बताउनुभयो।
चैत/वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ उहाँले भन्नुभयो । गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको उहाँ बताउँनुहुन्छ । हिमाली जिल्लाहरू हुम्ला, जुम्ला डोल्पा, मुगु र कालिकोटमा हिउँ परेको समयमा विशेषगरी मकै, सिमी, भट्मास, गुराँस, गहतलगायत गेडागुडीको तथा खसीको खुट्टाको झोल बनाएर खाने चलन रहेको छ ।
हिउँ परेको समयमा लोककथाहरू सुनाउने रमाइलो गर्ने चलन हिमाली भेगमा रही आएको छ । हिउँ परेको समयमा जुम्लाका किसानहरू स्याउ, आरु, ओखरलगायत फलफूल खेतीमा सिँचाइ गर्नका लागि हिउँ सङ्कलन गर्ने गर्दै आएका छन्।