वाग्मती, पुष १८। मकवानपुरको हेटौंडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।
उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ । उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् । उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ ।
उद्योगले खानी उत्खनन गर्दा पुर्याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताउनुभयो । उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उहाँको भनाइ थियो ।
समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बुँदे माग राखेको थियो । मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।
उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकरी दिनुभयो ।
उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उहाँले बताउनुभयोे ।
चालू आवको २०६ योजना सम्झौतामध्ये ७४ योजना सम्पन्न
हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको २०६ वटा पूर्वाधार विकास निर्माणका स्वीकृत योजनामध्ये ७४ योजना सम्पन्न भएको छ । सडक पूर्वाधारतर्फका ५६ र अन्य १८ वटा योजना सम्पन्न भएको हो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा ती योजना पूरा भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।
सम्झौता भई कार्यावन्यनमा रहेका धेरै योजना सम्पन्न हुने चरणमा पुगेको र कतिपय योजना सम्पन्न भएर भुक्तानीको चरणमा छन् । उपमाहगपालिकको गौरवका आयोजनाका रुपमा रहेको हेटौँडा वडा नं ४, ५ र ८ को मध्य भागमा रहेको कोर्रा करिडोर निमार्णको दोस्रो चरणको कार्य अगाडि बढाइएको, उपमहानगर क्षेत्रमा विगत ५ महिनामा आठ किलोमिटर स्ल्याब ढलान गरिएको, हेटौँडा वडा नं– १० मा रहेको एकीकृत बस टर्मिनल निमार्ण भइरहेकाले कार्यप्रगति ४० प्रतिशतभन्दा बढी भइसकेको उहाँको भनाइ थियो ।
वडा नं ८ मा रहेको चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माण कार्य द्रुतगतिमा भइरहेको, जिल्ला समन्यय समिति तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसगँको समन्वयमा हेटौँडा वडा नं-१४ स्थित वनेलधाप कालोपानी खानेपानी योजनाको निमार्णकार्य अन्तिम चरणमा रहेको, वाग्मती प्रदेश सरकारको कार्यक्रमअन्तर्गत दुई वटा स्वीकृत आयोजनामा संझौताको अन्तिम चरुणमा रहेको, बागमती प्रदेश सरकारबाट हस्तान्तरित सर्सत अनुदानको २९ वटा आयोजनामध्ये ८ वटा सम्पन्न भइसकेको, १६ वटामा सम्झौता भएको र बाँकी सम्झौताको अन्तिम चरणमा रहेको बताइएको छ ।
उपमहानगरपालिकाको प्रत्येक वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने लक्ष्यअनुरुप वडा नं १४ को वकार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको र वडा नं७ को कार्यालय भवन निर्माणका लागि अघि बढाइएको जनाइएको छ ।
(रासस)