जलेश्वर, पुष २०। महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच हुनुहुन्छ । उहाँ तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उहाँको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसक्नुभएका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि हुनुहुन्छ ।
चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्य रुपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् । पुरुषहरू पनि आधा –अधुरा च्यातिएको लुगाफाटाले सकीनसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन् । सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै “केही बाँड्ने मान्छे आयो” भन्दै आए । हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔ’ (हजुरले जे ल्याउनुभएछ, त्यो उनीहरुलाई नै दिदिनुहोस्) भन्दै कराउनुभयो ।
उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै हुनुहुन्छ । उहाँले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याउनुभएको छ भने ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राख्नुभएको छ । उहाँका कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैन । घरभित्रैबाट चिसाले काँप्दै सीताले रुँदै भन्नुभयो, ‘हजुर हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामीकहाँ कोही आउँदैनन् । जाडाले मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन) उहाँले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताउनुभयो । “ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू ?”, उहाँले थप पीडा पोख्नुभयो ।
वडाध्यक्ष रामविलास रायले चिसो पीडितलाई राहत दिन वडामा केही पनि नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ मैले चाहेर पनि मुसहरहरूका लागि तत्कालै केही गर्न सक्दिन, वडा सञ्चालनबाहेक हामीसँग कुनै थप बजेट छैन, सबै कार्यक्रम गाउँपालिकामै सीमित छ । पीडितको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदै केही गर्ने प्रयास भने अवश्य गर्ने छु । ” सो गाउँपालिकाका अध्यक्षमा भने रामछविला साह तथा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट सङ्घीय सांसदमा महन्थ ठाकुर र प्रदेश नं २ प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित हुनुभएको छ ।
रोग, भोक र कठ्याङ्ग्रिँदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरको उद्धार र राहतका लागि गाउँपालिका अध्यक्ष, सङ्घीय सांसद र प्रदेशसभा सदस्यले अहिलेसम्म कुनै पहल गरेको गुनासो एकै स्वरमा सबै मुसहरले गरेका छन् । उनीहरूका अनुुसार अहिलेसम्म कुनै एनजिओ र आइएनजिओसमेत तिनको हालखबर सोध्न वा कुनै किसिमको राहत बाँड्न आएका छैनन् ।
मुसहरहरूले आउँदो निर्वाचनमा आफ्नो बस्तीमा मत माग्न जानेलाई आफूहरुले यसै विषयबारे प्रश्न सोध्ने बताए । निर्वाचन भएको चार वर्ष बित्न लाग्दा पनि आफूहरुका लागि अहिलेसम्म जनप्रतिनिधिले कुनै कार्यक्रम नल्याएको र कुनै सहयोग नगरेको बस्तीका अगुवा रजिन्द्रले बताउनभुयो । उहाँसहित सम्पूर्ण बस्तीका पीडितले आफूहरूलाई बढ्दै गरेको चिसोबाट जोगाउनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकार पक्षसमक्ष आफ्ना कुरा पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह पनि गरे ।
(रासस)