
काठमाडौं, पुष २१। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीन माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको थियो ।
ती बसहरुले धामाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै सहज तथा राहत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँले जानकारीदिनुभयो। उहाँले भन्नुभयो, “सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, विमानस्थलमाआएका यात्रुहरुलाई गाडी पाउनै मुस्किल पर्ने समस्या हटेको छ ।” उहाँका अनुसार सटल बसहरुले दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झन्झटबाट यात्रुहरुले मुक्ति पाएका छन् । बस सेवाले विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि विमानस्थलसम्म निःशुल्क सेवा दिँदै आएपछि त्यहाँ यात्रा गर्ने सयौँ यात्रुलाई सहज भएको छ ।
सो सेवा सुरु भएपछि यात्रुका सरसामानदेखि अन्य कुराहरु गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पुर्याउन सहज भएको हुँदा यात्रुहरु खुसी भएका विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सटल बस सेवा सुरु भएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ, उक्त कामको यात्रुले खुलेर प्रशंसा गरिरहेका छन् ।
विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ। विश्रामस्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाइफाई र मन्त्रालय/विमानस्थलको हटलाइन नम्बर राखिएको छ। वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
हाल कूल २५ क्षमता भएको उक्त विश्रामस्थल निकट भविष्यमा ३०० व्यक्ति अटाउने क्षमताको बनाइने बताइएको छ ।
(रासस)