Kath Khabar
फेरि रेल चल्ने चर्चा चल्यो

महोत्तरी, पुष २५ । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास-जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर-कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो ।

“अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि (आउने फ्रेब्रुअरी-१० तारिखदेखि) कुर्था-जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिदैनन् ।

“कुर्था-जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौंला”, महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भन्नुभयो । शनिबार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक (चालक) बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले फेब्रुअरी १० देखि सेवा सञ्चालन गरिने बताउनुभएको हो ।

“सेवा सञ्चालनमा अब खासै अड्चन छैन, दक्षप्राविधिक भारतबाट झिकाइएका छन्”, महाप्रबन्धक झाले भन्नुभयो । यद्यपि यसअघि पनि सेवा सञ्चालनका तिथिमिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीका प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो रेल चल्ने चर्चाले खुशी समेटेको देखिदैन । जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलावदेवी साहको मुर्झाएको मन फेरि बौरिन्छ । कुर्था नजिकको बस्तीकी सले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा÷सुन्दा हल्ला भित्रै हराएको व्यङ्ग गर्नुभयो ।

रेलको कुराले कैयन पटक आफ्नो रहर मूर्छित् हुने र बौरिने गरेको साहको भनाइ छ । “कि कहुँ, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ, परार नै रेल चल्ने कुरा थियो, तर, कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुन्नुभएकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो, “अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (अहिले पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझौला कि रेल चल्यो) ।

भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । कुर्थादेखि भङ्गाहा–५ (महोत्तरी) को विजलपुरा स्टेसनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ । लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागेपनि कहिले चल्ने भन्ने कुरामा चैं ठूलाबडाको भनाइ त्यति पत्यारिला नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ ।

“रेल चलोक त जीवन बड आसान भजायत (रेल चलेपछि जीवन सजिलो बन्नेछ)”, भङ्गाहा नगरपालिका–९ हरिनमरीका ९० वर्षीय जितन यादवले भन्नुभयो, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर, लाग्दैछ जीवन यसै आशैआशमा भुण्डिदैछ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरेपनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुभिmने यादवको भनाइ छ । “रेल विभागका हाकिमले दुई ÷तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामै रह्यो”, भङ्गाहा–९ कै अजगेवा बस्तीका सत्यनारायण साहले भन्नुभयो, “कति सुन्नु त्यो उधारो कुरा...! रेल सञ्चालन भएपछि बुझौला, ए अब चलेछ ।” तर यी गुनासाबीच रेल चलेपछि आपूmहरुको दिन राम्रा आउने आशभने साहको मरेको छैन ।

भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा आउने फेब्रुअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ विजलपुरास्टेशनसम्म ) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउनमात्र बाँकी रहेकाले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) को सेवा पनि चाँडै सुरु हुने महाप्रबन्धक झाको भनाइ छ ।    

यता तेस्रोखण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमीटर दूरीभित्र भने बल्ल मुआब्जाको विषय टुङ्गिएको छ । गत भदौमा बर्दिबास (पुरानो बर्दिबास गाविस क्षेत्र) को मुआब्जाबारे निर्णय भएपछि अब तेस्रो खण्डको कामले पनि गति लिने कम्पनीको विश्वास छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा (हाल भङगाहा नपा–४) किसाननगर (हाल बर्दिबास–६ र ७) र धनुषाको बेङ्गाडावर (हाल मिथिला नपा–९ र १०) पर्छ । महोत्तरीतर्फका भङ्गाहा र किसाननगरमा गतवर्षमै जग्गा मुआब्जा निर्धारण गरिएर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिएको हो ।

अब मुआब्जाको कुरा टुङ्गिएको हुँदा निर्माण कार्य अघि बढाउन सम्वद्धपक्षलाई आग्रह गरिसकिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा (सन् २०१० को इष्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो ।

 

(रासस)

 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update