Kath Khabar
ट्राफिक महाशाखाले शुरु गर्यो, मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था

काठमाडौं, पुस २८। महानगरीय ट्राफिक महाशाखाले आज बुधबारदेखि ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको कि अस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।

महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लङ्घनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधि मैत्री बनाउँदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैङ्किङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्यु आर पेमेन्ट बाट समेत जरिवाना तिर्नसक्ने प्रणाली संचालनमा छन् । आज एक कार्यक्रमका बिच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि “प्रभु-पेको किअस्क मेसिन” उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एवं सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताउनु भयो । उहाँले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ, यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गर्नुभयो । उहाँले आम सेवाग्राहीको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु-पेलाई हार्दिक धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरूमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गर्नु भयो ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिहरुलाई क्रमश परिष्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा शुरु गरेको छ । प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरी सेवा बिस्तार गर्न पाउदा खुशी व्यक्त गर्नु भयो । उहाँले यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वित हुने समेत बताउनु भयो । हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताउनु भयो ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?
सर्वप्रथम प्रभु-पेको किअस्क मेसिन (KIOSK) मा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्सट बटन थिच्चनुहोस । त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरी नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समेत यो मेसिनले महत्वपुर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी संजीब शर्मा दासले बताउनु भयो । “ट्राफिक जरिवाना तिर्न बिभिन्न प्रविधिको बिस्तार गर्ने क्रममा मोबाईल बैंकिङ वा अन्य अनलाईन प्रविधिको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगीसिद्ध हुने कुरा उल्लेख गर्नु भयो ।

ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पुर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ। बिभिन्न प्रविधिको प्रयोग गरी ट्राफिक जरिवाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update