काठमाडौं, माघ ४। विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्मासन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल हुनुभएको छ । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धी कार्यक्रम संचालन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल हुनुभएको हो ।
सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै आगामी दिनमा समेत युवाहरूलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहन समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।
सन् २०२१ अगस्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धी कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानी माथि पद्मासन गर्नुभएको थियो । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेसनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।