Kath Khabar
कस्ता सवारी साधनलाई जोर बिजोर प्रणाली लागू हुँदैन !


काठमाडौं, माघ ७। काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार थप सूचना प्रकाशित गरी केही व्यक्ति तथा संस्थालाई जोर-विजोर प्रणाली लागू नहुने स्पष्ट पारेको छ ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहनमा जोर विजोर प्रणाली लागू नहुने जनाएको छ। त्यस्तै, ग्यास, पेट्रोलियम पदार्थी, खाद्यान्न, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपन्क्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) मा जोर विजोर लागू नहुने भएको छ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने निमित्त प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ ।

आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनले निर्णय गरेको हो । जोर दिनमा जोर नम्बर प्लेट भएका र बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारी साधन सञ्चालन गर्न पाइने उक्त आदेशमा जनाइएको छ ।

यातायात व्यवसायीहरुले भने सवारी साधनमा जोर-बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्। व्यवसायीहरुले  सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुको भीड झन बढ्ने भन्दै व्यवसायी जोरबिजोर प्रणालीको विरोध गरेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update