Kath Khabar
बिभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु


काठमाडौं, माघ ९। दैलेखको चामुण्डा बिन्दासैनी नगरपालिका-७ तार बजारस्थित सडकमा भे.१ ख १९२१ नम्बरको ट्रकको ठक्करबाट सडक किनाराको ढुङ्गामा बसिरहेकी सोही ठाउँ बस्नुहुने भवानी प्रसाद चौलागाईँकी छोरी १६ वर्षिया सर्मिला चौलागाइँको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-३ हैबुङस्थित सडकमा हाल नम्बर नखुलेको स्काभेटरले ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा स्काभेटर चालक बर्दिया मधुवन नगरपालिका ६ सानोश्री बस्नुहुने ४२ वर्षीय शेर बहादुर श्रेष्ठको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।  

बाँके, कोहलपुर नगरपालिका २ एहाँससिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे१० प ४६८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका-३ बस्नुहुने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्नुहुने २२ वर्षीय  किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका २ कोटाकोट सेरास्थित सडकमा लु३त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालक सोही ठाउँ बस्नुहुने १८ वर्षीय गोविन्द पाण्डेको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उहाँको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । रुपन्देहीको सैनामैना नगरपालिका ४ लुम्बिनीस्थित सडकमा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्नुहुने २३ वर्षीया लक्ष्मी श्रीस मगरको शनिबार मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। आफूले सामान किन्दै गरेको ठेलालाई लु.८प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको   हो । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update