Kath Khabar
गौतमबुद्ध रंगशालाको काम अगाडी बढाउन खेलकुद मन्त्रीको निर्देशन

चितवन, माघ १४ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको थियो ।

निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभयो ।

खेलकुदका पूर्वाधार बजेटको अभावमा अलपत्र परेको भन्दै दातृ निकायसँग आर्थिक सहयोगका लागि कुराकानीसमेत भइरहेको उहाँले बताउनुभयो । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजको भनाइ थियो । “राष्ट्रिय सहमति जुटेर अघि बढेको देशकै यो नमूना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ”, उहाँले भन्नुभयो ।

भरतपुरमा निर्माणाधीन रङ्गशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ । फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ । अन्तक्रिया कार्यक्रमअघि मन्त्री गहतराजसहितको मन्त्रालयको टोलीले काम रोकिएको रङ्गशालाको निरीक्षण गरेको थियो । सो अगवसरमा महानगर प्रमुख दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update