ललितपुर, माघ १६। ललितपुर सुनाकोठीस्थित बालकुमारी भवानी गुठीले चोरिएको बालकुमारी माईको मूर्तिबारे सूचना दिनेलाई पुरस्कार दिने भएको छ । गएको हप्ताको आइतबार बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। मूर्ति चोरी भएको एक हप्ता बितिसक्दा पनि मूर्ति भेटिएको छैन।
मूर्ति नभेटाएपछि बालकुमारी गुठीले सूचना प्रकाशित गर्दै मूर्तिबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको बताएको छ । गुठीले भनेको छ,‘मूर्ति हराए लगत्तै खोजीका लागि सम्बन्धित निकायले निरन्तर प्रयास गरिरहँदा पनि हालसम्म मूर्ति पाइएको छैन। तसर्थ, खोजी कार्यलाई थप तीव्र बनाउन खोजी कार्यका लागि सहयोग पुग्ने सूचना उपलब्ध गराउनुहुने व्यक्ति अथवा संस्थालाई ५ लाख पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउँदछौं ।' उक्त सूचनामा हराएको मूर्ति सम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा ९८८१२१७७८६ नं.मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।