Kath Khabar
श्रममन्त्रीलाई गुनासो आएपछि म्यानपावरमा स्टिइङ अपरेसन

काठमाडौं, माघ १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबारदेखि संचालन भएको कल सेन्टरमा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि मार्सल टोलीले सोमबार स्टिइङ अपरेसन गरेको छ। काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले संचालक हेमराज राई सहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहनुभएका अलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट मोहम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको मार्सल टोलीका संयोजक विष्णु लामिछानेले बताउनुभयो । सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्टिङ अपरेसन गरिने लामिछानेले बताउनुभयो ।

आइतबार कल सेन्टर सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताउनुभएको थियो। मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गर्नुभएको थियो । वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने मन्त्री श्रेष्ठले बताउनुभयो ।


 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update