Kath Khabar
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं, माघ २६ । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि आज दिउँसो उहाँलाई ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

छातीमा निमोनिया देखिनाका साथै उहाँमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।” अहिले उहाँमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताउनुभयो ।

जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा आज राति पनि राखिने बज्राचार्यले जानकारी दिनुभयो। जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै हुनुहुन्छ। जोशीका साथै उहाँकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसक्नुभएको छ ।
 

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update