Kath Khabar
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान

काठमाडौं, वैशाख ३० । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन-निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि आजबाट कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्यार्ईएको छ । 

आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ। कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो । निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाँउमा राखी संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्य महासंघको छ । 

आइशोलेसनका लागि स्थान भगवान महावीर जैन-निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ ।

आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ । आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ । केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघ स्पष्ट पार्दछ ।

 महासंघका अध्यक्ष शेखर गोल्छाले भन्नु भयो, 'कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो ।' अध्यक्ष गोल्छाले अगाडि भन्नु भयो, 'यस्ता आइशोलेसन सेन्टरको संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा समेत सघाउ पुग्ने मेरो विश्वास छ ।'

 आइशोलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरीरहनु भएका महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाँउमा पनि विस्तार गर्दै जाने योजना रहेको र जैन ज्ञान भवनमा संचालनमा ल्याउन लागेको आइशोलेसन सेन्टर स्थापनामा सहयोग गर्ने सवै संघ/संस्थालाई हार्दिक धन्यवाद दिनु भयो । सामूहिक आइशोलेसन भएको कारण जेष्ठ नागरिक, दीर्घ रोगीहरू लगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन असमर्थ छौ तर निकट भविष्यमा केहि थप व्यवस्था गर्दै जाने पनि आचार्यले जानकारी गराउनु भयो । 

महावीर जैन-निकेतनका अध्यक्ष विजय दुगडले भन्नु भयो-हामी हाम्रो संस्थाबाट सधै समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएका छौ, यसरी आफ्नो स्थान उपलव्ध गराई यो महामारीमा केहि गर्न पाएकोमा हामी अत्यन्त खुशी छौं । आरम्भ फाउण्डेशनका अध्यक्ष सिमा अधिकारीले भन्नु भयो, 'यो सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि सहभागी हुने अवसर दिएकोमा महासंघलाई धन्यवाद दिन चाहान्छौं । हामी यूवाहरूले देशलाई परेको यो संकटमा केहि गर्ने मौका पाएका छौं, त्यसैले योगदान गर्न अघि सरेका हौ ।'

 स्मरणीय छ, महासंघले कोभिड-१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियान अन्तरगत उक्त आइशोलेसन सेन्टर संचालनमा ल्याउन लागिएको हो । महासघले यसअघि कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर संचालनमा ल्याई सकेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update