
सिद्धार्थनगर, फागुन ६। बहुप्रतिक्षीत राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फीरुपमा खुसी भएको छ ।
आज दिउँसो विमानस्थलमा एरो थाइको १७ सिटे सानो जहाजले क्यालिबेरेशन फ्लाइट सुरु गरेको हो । क्यालिब्रेसन फ्लाइट भएको खबर पाएसँगै पर्यटन व्यवसायी मात्रै होइन, लुम्बिनी क्षेत्रका स्थानिय बासिन्दा पनि खुसीले गद्गद् भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानले भन्नुभयो, “यतिका वर्षको प्रतीक्षाको घडी सकिएको छ । हामी अत्यन्तै खुसी छौं, कोभिड-१९ का कारण क्यालिबेरेशन फ्लाइट हुँदैन की भन्ने चिन्ता थियो । अब आज क्यालिबेरेशन फ्लाइट भएको छ । यो सकिएपछि टेस्टिङ फ्लाइट हुने र कर्मसियल फ्लाइट पनि हुनेछ ।”
अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र मात्रै नभएर समग्र मुलुकवासी र देश नै लाभान्वीत हुने बताउनुभयो । यसअघि गएको माघ १५ गते शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने गरी तयारी भइरहेको बताउनुभएको थियो । मन्त्री आलेले भनेको समयभन्दा तीन दिन अगाडि क्यालिब्रेसन फ्लाइट भएपछि पर्यटन व्यवसायी पनि खुसी भएका छन् ।
नेपाल ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश प्रमुख सागर अधिकारीले भन्नुभयो, “भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले सिङ्गो मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा दिनेछ । मन्त्रीले भनेको समयअगावै जुन ढङ्गले क्यालिबेरेशन फ्लाइट हुँदैछ, सोहीअनुसार नियमित उडान हुने पनि हामी पर्यटन व्यवसायी अपेक्षा गर्दछौँ ।”
एरो थाइको जहाजसँगै एरो थाइ टिम ग्राउन्डमा रहनेछ। सबै चेकजाच गरेपछि मात्रै उक्त टिम फर्किने छ । एरो थाइले क्यालिब्रेसन फ्लाइट गरिसकेपछि टेस्ट फ्लाइट नेपाल एअरलाएन्सको ३३० ले गर्नेछ । क्यालिब्रेसन फ्लाइटको लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । यदी मौसममा प्रतिकूलता आएमा केही दिन ढिलाइसमेत हुन सक्नेछ ।
विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा प्रयाप्त जग्गा छ । २०६१ साल अघिसम्म ८४ बिघा तीन कट्ठा रहेकोमा यतिबेला १० हजार ५०० रोपनी पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो। अहिलेसम्म पोखरामा तीन हजार ७०० रोपनी, काठमाडौँमा सात हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाउ)को कोड फोर इका अनुसार तीन हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईंग ७७७, एअबर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन् । गौतबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने कार्य सुरु हुनुमा मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने प्रतिबद्धता गरेको हो ।
विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा सुरुआती चरणमा एडिबीले ४० दशमलब पाँच प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआइडी) ३० दशमलब पाँच प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको हो । काम सुरुआत गर्दा यो अनुपात भए तापनि थप रकम आवश्यक पर्दा नेपाल सरकारको ३७ दशमलब चार र बाँकी एडिबीको ऋण सहयोग हुने बताइएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसीपी वान र टु गरेर रु साढे सात अर्ब लगानी भइसकेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो ।
(रासस)