काठमाडौं, फागुन ११। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्व लामाप्रति उहाँले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज ट्विट गर्नुहुँदै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गर्नुभएको छ। उहाँले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।