
काठमाडौं, फागुन १४ । जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्कमा आईरहेको जनाएको छ । दूतावासका अनुसार अहिले एकसय ९३ जना नेपाली सम्पर्कमा आएको र उहाँहरु हालसम्म सुरक्षित रहेको दुतावासले जनाएको छ ।
रुसले पूर्वी भागमा आक्रमण गरेकोले पश्चिमी क्षेत्र सुरक्षित देखिएको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँतर्फ गइरहेका छन् । दूतावासको अनुमान अनुसार युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको छ ।
युक्रेनसँग सिमाना जोडिएका पोल्यान्ड, स्लोभाकिया र हङ्गेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ ।
दूतावासले सिमानाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजपत्र, राहदानी या यात्रा अनुमतिपत्र सम्बन्धी कुनै समस्या भएमा वा तत्काल अनुमति पत्र आवश्यक पर्ने भएमा, आफ्नो नेपाली राहदानीको फोटोकपि र एकप्रति फोटो दुतावासको ठेगानामा पठाउनुहुन आग्रह गरेको छ ।