Kath Khabar
बनेपामा शङ्कास्पद वस्तु राख्ने दुई जना पक्राउ, निष्क्रिय पारेसँगै यातायात चल्यो

काभ्रेपलाञ्चोक, फागुन १६ । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९.३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताउनुभयो ।

अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ। बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update