काठमाडौं, फागुन १८। पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ ।
पशुपतिनाथ मन्दिरमा मङ्गलबार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मङ्गलबार बिहानदेखि लागेको भीड आज बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो ।