Kath Khabar
सामूहिक आत्महत्याको प्रयासमा पाँच जना बेहोस, एकको मृत्यु

काठमाडौं, फागुन २४। काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९.३० बजे बेहोस अवस्थामा भेटिएका हुन् ।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो । उनीहरुले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका-१५ डल्लु घर भएका उनीहरु नागार्जुनमा भाडामा बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँ बताउनुभयो ।

(रासस)

 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update