भक्तपुर, फागुन २४। भक्तपुरको चाँगुनारायणमा जस्ताको टहराभित्र हत्या गरेको अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।
मृतक महिला काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका-९ की २८ वर्षीया जेनिशा नगरकोटी भएको पुष्टि भएको छ । भक्तपुर नगरपालिका-१० भोलाछेमा बस्दै आउनुभएकी मृतक ज्याला मजदुरीको काम गर्नुहुन्थ्यो। मृतक महिलाको श्रीमान राजु लामाद्धारा शवको सनाखत भएको हो। मृतक जेनिशा नगरकोटी केही दिनदेखि कोठामा नभएको र चाँगुनारायण-७ सम्म कसरी पुगिन् भन्ने कुरा थाहा नभएको उहाँका श्रीमानले बताउनु भएको छ ।
तरकारी खेतीमा काम गर्नेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रकृति हेर्दा हत्या आइतबार नै भएको अनुमान प्रहरीले गरेको छ। अर्धनग्न अवस्थामा फेला परेको मृतक महिलाको घाँटीको अगाडि भागमा गहिरो चोट लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरले बताएको छ ।