Kath Khabar
सङ्खुवासभा दुर्घटना : १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

सङ्खुवासभा, फागुन २६। सङ्खुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी-४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी-६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी-६ की अञ्जना कटुवाल र मादी-५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

(रासस)

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update