
कर्णाली, चैत्र ११। कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।
कालीकोटदेखि सुर्खेत-नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका-८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । “जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो”, उहाँले भन्नुभयो, “दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ ।”
आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताउनुभयो ।
“घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो । हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो”, चालक थापाले भन्नुभयो, “यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौँ तर आगोले एकैचोटि माथि भेट्यो ।”
(रासस)