Kath Khabar
आज मौसम सफा रहने

काठमाडौं, चैत १३ । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।

‘प्रिमनसुन’को समय भएकाले पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रिमनसुनका अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रिमनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ । 

पहाडी भेगमा प्रिमनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । विभागका अनुसार राति प्रदेश न १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव तीन डग्री र अधिकतम तापक्रम ३०  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update