Kath Khabar
भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु
 

नवलपुर, चैत्र १७। नवलपरासी-बर्दघाट-सुस्तापूर्वको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्लाको गैँडाकोट-८ स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो। ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयोे । 

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु
महोत्तरीको सोनमा गाउँपालिका-८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् भने प्रहरीले उनको खोजतलास व्यापकरुपमा गरिरहेको छ । यता बालक अकसरको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । 

(रासस)

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update