
कर्णाली, चैत्र २२। गएको शनिवार प्रदेश अस्पताल सुर्खेत परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनाको शवको पहिचान खुलेको छ । अस्पताल प्रशासनले घटनामा आफ्नो लापरवाही नभएको प्रष्टीकरण दिदैं दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरेको थियो ।
कुकुरले नवजात शिशुको शव च्यापेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि शव व्यवस्थापनमा गम्भीर लापर्बाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार त्यो शव दैलेखस्थितआठबीस नगरपालिका-९ का पवित्रा विकका बच्चाको रहेको जनाएको छ । उहाँको यही चैत्र १४ गते प्रदेश अस्पतालमा मृत बच्चा जन्मिएको र आफैँले दाहसंस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो। विक दम्पतिले आफूहरूले बच्चाको शव अस्पताल क्षेत्रभित्रकै जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुन सक्ने प्रहरीसमक्ष बताएका छन् । प्रहरीले फेरि शवको दाह संस्कार गर्न विक दम्पतीको जिम्मा लगाएको छ ।