 
                                                                            
          काठमाडौं, वैशाख ११। मोबाइल फोन आज हाम्रो दैनिक जीवनको सबैभन्दा महत्त्वपूर्ण अंग बनिसकेको छ। मोबाइलबिनाको जीवनको कल्पना पनि कसैले गर्न सक्दैन । सञ्चार क्रान्तिले हाम्रो संसार परिवर्तन गरेको छ। तर यो कमैलाई थाहा होला कि मोबाइलबाट निस्कने विकिरण मानव स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । वैज्ञानिक अध्ययनहरूले मोबाइल फोन प्रयोग गर्ने मानिसहरूलाई अन्य मानिसहरूको तुलनामा क्यान्सर हुने जोखिम बढी हुने अनुमान गरेको छ।
कुनै पनि बिन्दु, सतह वा कुनै वस्तुबाट प्रवाहित हुने ऊर्जाको रूपलाई विकिरण भनिन्छ। मोटोरोला, वनप्लस र गुगल पिक्सेलका केही पुराना फोन विकिरण फाल्ने फोनहरु मध्ये सबैभन्दा अगाडि देखिएका छन् । एउटा नयाँ रिपोर्टका अनुसार मोटोरोला एज, वनप्लस सिक्स टी, सोनी पिक्सेल, पुराना गुगल पिक्सेल मोडेल समेत स्मार्टफोन सबैभन्दा अधिक रेडिएसन छोड्ने गर्दछन् । मोटोरोला एज सबैभन्दा खराब रेडिएसन उत्सर्जन गर्ने फोनको सूचीमा पहिलो नम्बरमा छ ।
दोस्रो नम्बरमा रहेको जेडटीई एक्सन इलेभेन फाइभजीको सार भ्यालु १.५९वाट प्रति केजी रहेको छ भने वनप्लस सिक्स टीमा यस्तो भ्यालु १.५५वाट प्रति केजी देखिएको छ । यसैगरी सोनी एक्सपेरिया, एक्सपेरिया एक्सए टु प्लस र एक्सपेरिया एक्सजेड वान कम्प्याक्ट मोडल समेत अत्यधिक रेडियसन उत्सर्जन गर्ने स्मार्टफोनको टप टेनमा छन् ।
त्यस्तै यो सूचीको टप टेनमा गुगलका तीन मोडल छन्, जसमा गुगल पिक्सेल थ्री एक्सएल, पिक्सेल फोर ए र पिक्सेल थ्री रहेका छन् । फोनलाई उसको स्पेसिफिक एब्जर्प्सन रेसियो (एसएआर) को आधारमा वरियतामा राखिन्छ ।
जसको अर्थ फोनले कति छिटो रेडियो फ्रिक्वेन्सी ऊर्जा सोस्ने कार्य गर्दछ भन्ने हो । रेडियसन क्यान्सरको प्रमुख कारणमध्ये एक हुन सक्छ । यद्यपि, एफसीसी (फेडेरल कम्युनिकेसन कमिसन)को भनाईमा सेलफोनबाट उत्सर्जित रेडियो फ्रिक्वेन्सी ऊर्जाका कारण हुने स्वास्थ्य समस्याको कुनै वास्तविक वैज्ञानिक प्रमाण हात लागेको छैन ।
कतिपय देशहरूले एसएआरको निश्चित स्तर निर्धारण गरेका छन् । जुन हरेक स्मार्टफोनले पूरा गरेको हुनुपर्छ । उदाहरणको लागि अमेरिकाको फेडरल कम्युनिकेसन कमिसनले अधिकतम एसएआरको स्तर १.६ वाट प्रति केजी निर्धारण गरेको छ । प्रत्येक स्मार्टफोनले भिन्न स्तरमा भए पनि प्रयोग गर्दाको समयमा न्यूनतम स्तरमा नन-आयोनाइजिङ रेडियसन उत्सर्जन गर्दछ । रेडियसनलाई रेडियो फ्रिक्वेन्सी ऊर्जाको रुपमा समेत चिनिन्छ ।
मानव शरीरले मोबाइल फोनबाट निस्किने रेडियो फ्रिक्वेन्सी ऊर्जालाई अवशोषित अर्थात् सोस्ने काम गर्दछ । यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणले समेत रेडियसनको निश्चित स्तर निर्धारण गरिदिएको र मापदण्ड पूरा गर्ने स्मार्टफोन मात्रै नेपाल भित्रिने व्यवस्था मिलाइएको बताउँदै आएको छ ।


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                    -1761560628.png) 
                    