
धादिङ, वैशाख ११। धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा एक नेपाली र चार भारतीय नागरिकको ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए । उक्त गाडिको चालक नेपाली थिए भने यात्रुहरु सबै भारतीय थिए । प्रहरीका अनुसार कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत तथा भारत उत्तरप्रदेशका ५५ वर्षीय राकेश अग्रवाल, ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवालको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो । नेपाल घुम्न आएका भारतीय नागरिकहरु पोखराबाट काठमाडौंतर्फ आउँदै थिए ।