Kath Khabar
भक्तपुरको चाँगुनारायणमा एक व्यक्ति मृत अवस्थामा फेला


        भक्तपुर, वैैशाख २१। भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विवेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका-८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका-६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका-२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली सोही गाउँपालिका-५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् । कपिलवस्तुको शिवराज नगरपालिका-५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका-२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका-२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । ओम प्रकाश र  सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५ जना पोखरा महानगरपालिका-२३ हर्पनबाट अन्नपूर्ण-२ ठुलाचौर जाने क्रममा ओम प्रकाश हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरी पोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update