
काठमाडौं, वैशाख २७ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडा लगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि फर्कन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका मतदाता फर्कन थालेका हुन् । छिमेकी मुलुक भारत र आफ्नै देशका विभिन्न स्थानमा रहेका यस क्षेत्रका बासिन्दा मतदानका लागि आउने क्रम जारी छ । जिल्लामा एक उपमहानगरपालिका र एक नगरपालिकासहित आठ गाउँपालिका गरी १० वटा स्थानीय तह छ । नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपालगायतका राजनीतिक दलले आसन्न स्थानीय तहको निर्वाचनमा आ-आफ्नो पार्टीबाट उम्मेदवारी दिएका छन् ।
आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचनका लागि प्राविधिक काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यालयको सञ्चालनसँगै निर्वाचनको लागि प्रशासनिक र राजनीतिक गतिविधि बढ्दै गएको छ ।
मकवानपुरमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी र इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । जसमा एक लाख ४९ हजार ९५४ पुरुष तथा एक लाख ४४ हजार ९५९ महिला र छ अन्य मतदाता रहेको बताइएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौँडा उपमहानगरभित्र रहेका छन् ।
हेटौँडामा ५० हजार ७२५ पुरुष र ५३ हजार ७४५ महिला तथा ३ जना तेस्रोलिङ्गी सहित १,०४,४७३ मतदाता रहेका छन् । यसैगरी सबैभन्दा कम मतदाता इन्द्रसरोवर गाउँपालिकामा रहेको छ । सो गाउँपालिकामा ६,४६५ पुरुष र ६,००६ महिला गरि कूल १२,४७१ मतदाता रहेका छन् ।
थाहा नगरपालिकामा १६,६९९ पुरुष र १५,६०७ महिला र १ तेस्रोलिङ्गी गरी कूल ३२,३०७ मतदाता छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार वकैया गाउँपालिकामा १५,५९३ पुरुष र १४,३४८ महिला र अन्य २ गरी २९,९४३ मतदाता छन् । बागमती गाउँपालिकामा ११,१९० पुरुष र १०,८५० महिला गरी कूल २२,०४० मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा ८,९३५ पुरुष र ८,४९३ महिला गरी १७,४२८ कूल मतदाता रहेका छन् ।
मनहरि गाउँपालिकामा १३ हजार ७०९ पुरुष र १३,०१२ महिला गरी कूल २६,७२१ कूल मतदाता रहेको बुझिएको छ । त्यस्तै मकवानपरगढी गाउँपालिकामा ९,८९९ पुरुष र ९,२१९ महिला गरी कूल १९,११८ मतदाता छन् । जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा ८,७४७ पुरुष र ७,०८५ महिला गरी १५,८३२ मतदाता छन् भने कैलाश गाउँपालिकामा ७,९९२ पुरुष र ६,५९४ महिला गरेर १४,५८६ कूल मतदाता रहेका छन् ।
जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द कायम भएको छ । त्यसका लागि निर्वाचनमा ४ तहको सुरक्षा संयन्त्रण र १,४७१ म्यादी प्रहरीको परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । जिल्लामा १९ मतदानस्थल अति संवेदनशील रहेकाले त्यसको सुरक्षा प्रबन्ध मिलाइने पाण्डेले बताउनु भयो ।
मकवानपुरमा नगरपालिका र गाउँपालिका गरी १० स्थानीय तह रहेको त्यसका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित २० पद र १०२ वडाका लागि वडाध्यक्षसहित सदस्य गरी ५१० पदको निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि १,७६७ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ ।