Kath Khabar
पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन

काठमाडौं, जेठ ५ । पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । काठमाडौं महाराजगंजस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो । स्व. बरालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, पूर्व प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वहालवाला एवम् पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, स्व. बरालका परिवारजन एवम् आफन्तजन समेतले स्व. बरालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । स्व. बरालको पार्थिव शरीरमा उहाँका जेठा छोरा रणजित बरालले दागवत्ती दिनुभयो ।

पाल्पाको देउचुली थुम देउरालीमा जन्मिनु भएका पूर्व प्रहरी महानिरीक्षक स्व. बराल वि.सं. २०१४ सालमा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले वि.सं. २०२९ साउनदेखि २०३५ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यस दुखद् क्षणमा नेपाल प्रहरी स्व. बरालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । प्रहरी संगठनको श्रीवृद्धि र उन्नतिमा उहाँको योगदान सदा जीवन्त रहनेछ ।  

 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update