Kath Khabar
क्यान्सर जाँच शिविर गर्न सहकारी संघ र क्यान्सर सहयोग समुहबीच सम्झौता



       ललितपुर, असार ८। जिल्ला सहकारी संघ ललितपुर र नेपाल क्यान्सर सहयोग समूह काठमाडौँबीच पाठेघरको मुखको क्यान्सरको जाँंच शिविर सञ्चालन गर्न मंगलबार एक सम्झौता भएको छ । ललितपुर जिल्लाका विभिन्न स्थानहरूमा आर्थिक वर्ष २०७९/८० मा पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्न कम्तीमा वार्षिक १२ वटा वा सो भन्दा अधिक पाठेघरको मुखको क्यान्सरको जाँच सञ्चालन गर्न सहमति भए बमोजिम मंगलबार एक कार्यक्रमबीच सम्झौता गरिएको हो ।

सम्झौतामा जिल्ला सहकारी संघ ललितपुरकोतर्फबाट अध्यक्ष केदार गोर्खाली र नेपाल क्यान्सर सहयोग समूहकोतर्फबाट अध्यक्ष दीलिप भटटराईले हस्ताक्षर गरेका छन् । शिविर सञ्चालनका लागि दुवै पक्षबीच नौ बुँंदे सहमति भएको हो । सहमति अनुसार शिविर सञ्चालनका लागि जिल्ला सहकारी संघ ललितपरकोतर्फबाट गर्नुपर्ने पाँंच वटा र नेपाल क्यान्सर सहयोग समूह काठमाडौंकोतर्फबाट गर्नुपर्ने चार वटा बुँदाहरू उल्लेख छन् ।

सम्झौता अनुसार शिविर गर्नका लागि आवश्यक प्राविधिकहरू डाक्टर, नर्स, सहायक र अन्य नेपाल क्यान्सर सहयोग समूह काठमाडौँले उपलब्ध गराउनुपर्ने, शिविर सञ्चालन गर्नका लागि आवश्यक स्थानको पहिचान गर्ने, स्वयम्‌सेवकहरू उपलब्ध गराउने तथा परिचालन गर्ने व्यवस्था जिल्ला सहकारी संघ ललितपुरले गर्ने लगायतका बुँदाहरू रहेका छन् ।

कार्यक्रममा दुवै पक्षका वक्ताहरूले शिविरले जिल्लामा क्यान्सर रोगीहरूको पहिचान गर्न सहयोग गर्नुका साथ समयमै रोग पता लगाउन सफल भएर क्यान्सरका कारण अकालमै ज्यान जोगाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । सुरुमै क्यान्सर रोगको पहिचान हुन सके नेपालमै सजिलै उपचार हुने अवस्था छ ।


 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update