Kath Khabar
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान



         काठमाडौं, असार २७। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार २७ गते आयोजित एक समारोहकाबीच हालै पदोन्नति हुनुभएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नति हुनुभएका अधिकृतहरूलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक जीवनमा पदोन्नति वृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्नुहुँदै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफूहरू अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै खाली पदहरु सीमित रहँदा सबैले एकै पटक पदोन्नति प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरूको वृत्तिविकासको लागि कार्यसम्पादन मूल्यांकन प्रणालीलाई वस्तुपरक र वैज्ञानिक बनाउँदै लगिने चर्चा गर्नुहुँदै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद सृजना गर्नेतर्फ समेत पहल भइरहेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशील रहन अधिकृतहरूलाई निर्देशन दिनुहुँदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरू अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशील रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत सही मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका अधिकृतलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति हुनुभएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा हुनुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update