Kath khabar
नेपाल टेलिकमद्धारा दशैं अफर सार्वजनिक


            काठमाडौं, असोज ८ । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा भोली (२०७९।६।९) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।

डाटा प्याक अन्तर्गत दुई सय ९४ रुपैंयाँमा मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैंयाँमा ६ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी एब दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैंयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइनेछ । दुई सय रुपैंयाँदेखि चार सय ९९ रुपैंयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाईस ओभर लेटे (भोल्टे) सेवा पनि उपलब्ध गराइएको छ ।

उल्लेखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।


 

 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update