Kath Khabar
धितोपत्र बोर्डले दियो नेप्सेलाई यस्तो निर्देशन, 'राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याऊ'

काठमाडौं, जेठ २०। नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई कडा निर्देशन दिएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन नसकिरहेको र धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन बृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक देखिएको हो । सोही अनुरुप नेप्सेलाई उक्त निर्देशन दिएको बोर्डले जानकारी दिएको छ । 

उपर्युक्त पृष्ठभूमिमा राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक रकम जम्मा हुने व्यवस्था अबिलम्व गर्नुपर्ने भएको हुँदा देहाय अनुसारको व्यवस्था गर्न बोर्डको निर्णयानुसार नेप्सेलाई निर्देशन दिइएको हो, बोर्डले भनेको छ । बोर्डका अनुसार धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७-०७८ भित्र ५० करोड, आर्थिक वर्ष २०७८-०७९ भित्र थप ३० करोड र आर्थिक वर्ष २०७९-०८० भित्र थप २० करोड गरी कुल एक अर्व रकमको कार्यान्वयन योग्य कोष स्थापना र संचालन गर्नुपर्ने छ ।

यसैगरी राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम, राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम हुुनुपर्ने छ । उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको एक प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्ने छ । उपर्युक्त बमोजिम थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदान भन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्ने छ ।

बोर्डका अनुसार राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्नुपर्ने छ । यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको रकम समयमै राफसाफ तथा फछ्र्यौट् हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने, धितोपत्र कारोवारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्री वापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोवार थप गतिशील हुन सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ ।     

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update