
काठमाडौं, जेठ २५ । राष्ट्रिय खाद्य बैंकले प्रमोर्टर शेयरमा माग भन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्रि सेवा असार मसान्तबाट बन्द गरिने भएको छ । २ अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले सो निर्णय गरेको हो । जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैंकको प्रमोर्टर शेयर सदस्य बन्न सकिने बैंकका अध्यक्ष शंकर उप्रेतिले बताउनुभयो ।
बैंकका अध्यक्ष उप्रेतिले भन्नुभयो- ‘असार मसान्तसम्म इच्छुक हुनेहरु बैंक समक्ष आउन अनुरोध छ । सो पश्चात शेयर खरिद गर्न नपाउनु हुनेहरुले दूई बर्षपछी आइपिओ भर्न पाउने छन् । हामी त्यहि ढंगले काम गर्दैछौ’ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके-बर्दिया र झापा-मोरङमा बृहत कृषि परियोजना सुरु गरिसकेको छ । स्थानिय कृषकहरुको सहभागितामा ती प्रोजेक्टहरु अघि बढाइएको अध्यक्ष उप्रेतिले बताउनुभयो । पहिलो चरणमा ती स्थानहरुमा स्थानिय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतिले भन्नुभयो ।
झापा-मोरङमा करिव ५०० विघा र बाँके-बर्दिया-कास्की जिल्लामा झण्डै ४०० विघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयहरु सहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरुमा पनि जग्गा लिजमा लिने कामहरु भइरहेको अध्यक्ष उप्रेतीले जनाउनुभयो । कोभिड १९ को कारण बैंकको गतिविधिमा ब्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतिले भन्नुभयोे- ‘कोरोनाको दोश्रो लहर नआएको भए हामीले करिव २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा ब्रेक गर्यो’ ।
अध्यक्ष उप्रेतिका अनुसार यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ । उनी भन्छन् ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहित गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल-बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै वर्षबाट हामी खरिद पनि गर्छौ । ब्रान्डिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याउँछौ’ ।
राष्ट्रिय खाद्य बैंकमा हालसम्म पाँच सय ९० प्रमोटर शेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैंक छिट्टै सर्वसाधारणका लागि आइपिओमा जाने तयारीमा छ । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएकोले बैंक मार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताउनुभयो ।