Kath Khabar
उडिरहेको जहाजमा सिट बेल्ट नै खोलेर कुटाकुट गर्ने व्यक्तिहरु तारेखमा छुटे

 

                  काठमाडौं, चैत २४ । बुधबार विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा दुई यात्रुबीच कुटाकुट भएपछि बुद्ध एयरका कर्मचारीले प्रहरीलाई जिम्मा लगाएका व्यक्तिहरुलाई प्रहरीले सचेत गराई बिहीबार साँझ तारेखमा छाडेको छ ।

बुधबार ७० यात्रु बोकेर विराटनगरबाट उडेको विमान करिब २४ किलोमिटर दूरी उडेपछि एक्कासी विमानको मध्य भागमा बसिरहेका दुई यात्रुले कुटाकुट गर्न थालेका थिए । छेउछाउका यात्रुहरूले उनीहरूलाई सम्झाए पनि उनिहरुले नमानेपछि विमानकी परिचालिकाले चालक दललाई खबर गरेकी थिइन् । अन्य यात्रुलाई समेत उडानमा प्रभावित बनाउने उनीहरुले सिट बेल्ट नै खोलेर कुटाकुट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेपछि विमानस्थलका सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार जग्गाको विवादले जहाज भित्रै उनीहरूले झगडा गरेका थिए ।

यसरी अन्य यात्रु तथा हवाई सुरक्षामा समेत गम्भीर असर पुग्ने गरी उडेको विमानभित्र यस्तो अभद्र व्यवहार गर्नेलाई जरिवाना, कैद वा उडानमै रोक लगाउन सक्नेसम्मका कारबाही हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update