Kath khabar
वायु प्रदूषणबारे नेपालभर चेतना फैल्याउन सेभ द चिल्ड्रेनको ‘साथी’ अभियान



                ललितपुर, वैशाख ९ । वायु प्रदुषणबारे नेपालभर जनचेतना फैल्याउने उद्देश्यसहित सेभ द चिल्ड्रेनले ‘साथी’ अभियान अगाडि सारेको छ । साथी अर्थात भालु आकारको सेतो टेडि बियर लिएर अभियन्ताहरु ६ महिनासम्म नेपालभर वायु प्रदुषणबारे जनचेतना फैल्याउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् ।

विश्वमा यतिबेला नेपालको राजधानी काठमाडौं ज्यादै प्रदूषित शहरको सूचीमा सूचिकृत छ । यस सन्दर्भमा सेभ द चिल्ड्रेनले पृथ्वी दिवसको अवसर पारेर देशव्यापी अभियान संचालन गर्न लागेको हो ।

सेभ द चिल्ड्रेनलाई अन्य संघसंस्था र बालबलिका तथा युवा अभियन्ताको साथ रहनेछ । साथी अवधारणाले नेपालभरका मानिसलाई वायु प्रदुषणबारे जानकारी दिन सहयोग पुग्नेछ । सेभ द चिल्ड्रेनकी राष्ट्रीय निर्देशक, हेदर क्याम्पबेलका अनुसारः “साथी एयर बियर वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदुषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनु पर्छ भन्ने बारे झकझकाउने काम गर्छ ।

यस अभियान मार्फत हामी विभिन्न सरोकारवालाहरुसँग वातावरण संरक्षण सम्बन्धि कुराकानी र वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्छाँै र वहाँहरुलाई बालाबालिकाको भविष्यका लागि दिगो निर्णय लिन र वायु प्रदुषणका साथसाथै जलवायु परिवर्तन सम्बन्धि काम गर्न आह्वान गर्छौँ ।”

६ महिनाको अवधिमा चार मिटर (१२ फिट) अग्लो सेतो भालु वा टेडि बियरलाई नेपालका विभिन्न क्षेत्रमा दि–गो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाईनेछ । विद्युतीय सवारी साधनले वायु प्रदुषण गर्दैन, यो वातावरण मैत्री हुन्छ जसकारण वायु प्रदुषणबारे चेतना फैल्याउने कार्यक्रममा विद्युतीय सवारी प्रयोग गर्न लागिएको हो । सेतो भालुलाई देशभर लगिँदा यसको रङ कालो हुँदै गएको देखाइनेछ । यसरी अभियन्ताहरुले मानिसहरुलाई सेतो भालु यानेकि टेडि बियर देखाएर वातावरण प्रदुषणको बेफाइदाबारे बुझाउने छन् ।

६ महिने अभियानका क्रममा वायु प्रदुषणको प्रभावबारे बालबालिका र युवालाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास हुनेछ । जहाँ नीति निर्माता र प्रभावशाली सरोकारवालाहरुसँग वायु प्रदुषणसँगै जलवायु परिवर्तनबारे पनि छलफल गर्दै निष्कर्ष निकाल्ने प्रयत्न गरिनेछ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update