Kath khabar
उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ

 

                         ललितपुर, वैशाख ११ । आजबाट यस वर्षको मत्स्यन्द्रनाथ रथ जात्राको शुभारम्भ भएको छ । आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेवाः भाषामा बुंगद्यः का रुपमा पनि पुकारा गरिन्छ । विगतको १,६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ ।

प्राचिन बुङ्गमती गाँउ मच्छिन्द्रनाथको जन्मथलो मानिन्छ, मच्छिन्द्रनाथ एकजना सिद्धपुरुष थिए जस्ले प्रकृतिका हरेक अवयवहरु माथि नियन्त्रण गर्न सक्थे । सहकालका यी देवतालाई तसर्थ उपत्यका वासीहरुले वर्षाका देवका रुपमा हजारौं वर्षदेखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दूहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।

म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरी स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ । यसपछि ललितपुरका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुङ्गमतीमा राखिने चलन छ ।

योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेर पनि चिनिन्छ, गो अर्थात पृथ्वी र रख अर्थात रक्षा तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन् जस्लाई योगी मत्स्यनारायणले दिक्षा दिएका हुन्। गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुन् । 

नेपाली राजपरिवारको निकटतम समबन्ध परापूर्वकाल देखि नै योगी गोरखनाथसंग रहेको पाइन्छ, गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरुले समय समयमा गरिआएको पाइन्छ । हजारौं वर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ, मत्स्यनारायण र गोरखनाथ योगीहरुका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ भन्ने हाम्रो विश्वास छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update