Kath khabar
सगरमाथा आरोहण गर्ने क्रममा ४ दिनमा ६ जनाले ज्यान गुमाए

 

               सोलुखुम्बु, जेठ ४ ।  यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने क्रम जारी छ। ४ दिनअघि आरोहण शुरु भएकोमा अहिलेसम्म २५० जना सगरमाथाको चुचुरोमा पुगेका छन्। बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। 

विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७औं पटक सगरमाथा आरोहण गरेका छन्। यो सिजनमा सगरमाथा सहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन्। सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ।

यस वर्ष आरोहणका क्रममा ६ जनाले ज्यान गुमाएका छन्। बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ।

यसै सिजनमा पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनामले पनि सगरमाथा आरोहण गरेका छन्। यती समूहका अध्यक्ष समेत रहेका उनी बुधबार बिहान ७ बजेर ३४ मिनेटमा चुचुरोमा पुगेका हुन्।यसअघि श्रीमती पासाङल्हामुसँगै सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेको थिएन। त्यसबेला उनी क्याम्प २ बाट फर्केका थिए। पासाङल्हामु २०५० वैशाख १० मा सगरमाथाको शिरमा पुगेकी थिइन्। आरोहण पछि फर्कने क्रममा उनको बाटोमा निधन भएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update