Kath khabar
आज गणेश चतुर्थी, चथाः पर्व मनाएर दशैं भित्र्याउँदै नेवार समुदाय

 

               काठमाडौं, असोज २ ।  आज गणेश भगवानको पूजा आरधना गरेर गणेश चतुर्थी पर्व मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।  आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत मुलुकभरका गणेश मन्दिरमा विशेष पूजाआजा थालिएको छ ।

शिवपार्वतीका पुत्र गणेशलाई हिन्दु धर्मावलम्बीहरुले धार्मिक कार्यको प्रारम्भमा पूजा गर्ने परम्परा छ । आजको दिनलाई मंगल चतुर्थी समेत भनिन्छ । नेवार समुदायले आजको दिनलाई चथा पर्वको रुपमा मनाउने चलन छ ।

यस दिन चथाः गणेशको पूजा गरे खुशी मिल्ने, मनोकांक्षा पूरा हुनुका साथै सपरिवार बसेर दशैं राम्रोसँग मनाउन पाउने मान्यता छ। चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास  रहेको छ। 

यस दिन नेवार समुदायले चन्द्रमाको पूजा गर्ने दुईवटा परम्परा छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन्। अर्को समुदाय, घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र गणेश र चन्द्रमाको पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन रहेको छ।

चथाः पर्वको महत्व :

नेपालका नेवार समुदायले विभिन्न पर्वहरू वर्षभरी नै मनाउँदै आएका छन् । यस्ता चाडपर्वहरू मध्ये चथाः अर्थात गणेश चौथी पनि एक हो । यो पर्व भाद्र शुक्ल चौथीका दिन मनाइने गरिन्छ । यसलाई नेपाल भाषामा चथा भनिन्छ र यस दिन पुजिने देवतालाई चथा देवता भनिन्छ । यस दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यस दिन बिहानै देखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशको पुजा बिहान गरेता पनि चथा: गणेशको पुजा भने चन्द्रमा देखेपछि रातिको समयमा गर्ने गरिन्छ । चथा: पुजा किन राती गरिन्छ भन्ने सम्बन्धी एक किंवदन्ती रहेको छ ।

भगवान गणेशको रुप माथी चन्द्रदेवले खिल्ली उदाएकोले गणेश क्रुद्ध भै चन्द्रदेवलाई सराप दिएको थियो कि अब उपरान्त कसैले चन्द्रको दर्शन गरे चन्द्र दोष लाग्नेछ जसले गर्दा मिथ्या चोरीको दोष लाग्ने छ । यसै सरापले गर्दा सबैले चन्द्रदेवको दर्शन गर्न छोड्यो । आफ्नो गल्ती महशुस गरी चन्द्रले भगवान गणेशसंग क्षमा माग्यो र गणेश प्रशन्न भै सबै सराप त फिर्ता लिन सक्दिन तर ञलथ्व चतुर्थी (चथा:) को दिन बाहेक अरु दिनको दोष क्षमा गरि दिए । त्यसैले चथा:को  दिन चन्द्रमा हेर्नू हुन्न भनी आजसम्म पनि लुक्ने प्रचलन रहिआएको छ ।

द्वापरयुगमा भगवान कृष्णले चथा:का दिन चन्द्रमा हेरेको हुनाले मिथ्या चोर दोष लागेछ र उहाँ माथी स्यमन्तक मणिको चोरी तथा प्रसेनको हत्याको मिथ्या दोष लागेपछि श्री गणेशको पुजा गरि क्षमा माग्नाले उक्त दोषबाट मुक्त हुनु भयो र त्यसै दिनदेखि चथा:को दिन श्री गणेशको पुजा गरी चन्द्र दोषबाट मुक्त होस् भनी क्षमा माग्न गणेशको पुजा गर्ने प्रचलन चल्दै आएको हो । त्यसैले यसदिन चन्द्रमा हेर्नू हुन्न भन्ने मान्यता रहेको छ । यदि गल्तीले चन्द्रमालाई हेर्यो भने चन्द्र दोष नलागोस भनी क्षमा माग्दै गणेशको पुजा गर्ने गरेको हो ।

चथाः पर्वलाई नेवार समुदायले दशैं भित्र्याउने पर्वको रुपमा समेत लिने गरेको छ। दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन पनि छ। नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैं पनि राम्रो हुने लोक मान्यता र विश्वास रहेको पाइन्छ। आजकै दिन किसानहरुले आ-आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत रहेको छ। 

आजकै दिन ईन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ। इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिंगो भक्तपुरको चित्तापोलस्थित लिंगेवनबाट लाने परम्परा छ। 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update