
काठमाडौं, साउन ७ । नेप्से आज बिहिबार तीन हजार अंकमा पुगेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १८ दशमलव ७५ अंकले बढेर तीन हजार चार दशमलव ३१ अंकमा पुगेको हो । यसैगरी सेन्सिटिभ पनि चार दशमलव छ अंकले बढेर पाँच सय ६२ दशमलव २४ अंकमा पुगेको छ । आज दुई सय २२ वटा कम्पनीहरुको एक लाख १४ हजार सात सय ७२ पटकको कारोवारमा पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम ११ अर्ब ११ करोड ४१ लाख २१ हजार छ सय १६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा र सामुहिक लगानी कोष सहितका पाँच वटा समुहको सुचक बढेकाछन् भने विकास बैंक, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी सहितका आठ वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर लिमिटेड, कृषि विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने हिमालयन पावर पार्टनर, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, पाँचथर पावर कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने कृषि विकास बैंक, ङादी ग्रुप पावर लिमिटेड, नेपाल बैंक आदि परेकाछन् ।